सोमबार शिव भगवान को यसरी पूजा गरे लाभदायी ॐलेखी सेयर गर्नुस् चिताएको कुरा पुरा हुने विश्वास ॐॐॐ

आज यो वर्ष साउनको दोस्रो सोमबार । आज पनि शिवालयहरूमा भक्तजनको भीड लागेको छ । सनातन धर्ममा सोमवारलाई शिवको बार मानिन्छ । यो दिन शिवजीको व्रत गर्ने विधान छ, त्यसमा पनि साउनको सोमवारको महत्व अझ बढी छ ।

साउनको सोमवारमा शिवजीको व्रत र पूजाको विशेष विधान पाइन्छ । साउने सोमवार व्रत बस्दा त्यसको फल अधिक प्रभावकारी हुन्छ भन्ने शास्त्रीय मान्यता छ । पुराणहरूमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ । ती हुन् – साउने सोमबार, सोह्र सोमबार एवं सोह्र प्रदोष । यीमध्ये साउने सोमबार हिजोआज फेसनमा छ ।

सोमबारे व्रत विधान

व्रत राख्नेले सोमवारको दिनमा फलाहार वस्नुपर्छ, साँझपख एकछाक मात्र भोजन खानुपर्छ । दूध र फल खाएर दिनभरि व्रत बस्नुपर्छ । यतिवेला शिवजीको पूजा गर्नेले माता पार्वती र शिवजीलाई सँगै सम्झेर पूजा गर्नुपर्छ । बिहान सबेरै उठेर सूर्योदयपूर्व शिवलिङ्गमा जलार्पण गर्नुपर्छ । त्यसपछि फलाहार लिनुपर्छ, दिनमा शिव भजन–कीर्तन आदि, मध्याह्नमा सक्नेले पुनः शिवलिङ्गमा जलार्पण र बेलुकी साँझमा पुनः शिवलिङ्गमा जलार्पण गर्छन्, नसक्नेले दिनमा दुईचोटि र त्यो पनि नसक्नेले दिनमा एकचोटि जलार्पण गरेर सोमवारको व्रत पूरा गर्छन् ।

यस वर्ष साउनमा चारवटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

साउनको सोमवार पाँच दिन परेको खण्डमा पाँचवटा सोमवारको व्रतपछि व्रत फुकाउन सकिन्छ नभए १६ सोमवार व्रत पूरा गर्नुपर्छ र व्रत फुकाउनुपर्छ भनिन्छ । त्यसभन्दा धेरै व्रत गर्नाले त्यसको प्रभाव कम हुन्छ । त्यसैले विधानले बताएकै समयमा व्रत पूरा गर्नुपर्छ । पाँचवटा सोमवार मात्र व्रत गर्ने हो भने अन्तिम दिनमा व्रत फुकाइसकेपछि व्रतका सामग्रीहरू चोखो नदीमा प्रवाहित गर्दै आफ्नो फलानो कामना पूरा होस् भनेर शिवजीलाई स्मरण गर्नुपर्छ ।

सोमवारको व्रत गर्नेहरूले अभक्ष्य अर्थात् तामसी भोजन खानु हुँदैन । सात्विक खाना खानुपर्छ, त्यो पनि एक छाक । फलफूल सेवन गर्न निषेध छैन । सोमवारको व्रत गर्दा सेतो फूल र बेलपत्र, धतुराको फूल आदि शिवलिङ्गमा चढ़ाएर पूजा गर्नुपर्छ । कुनै कामना वा इच्छा छ भने त्यो इच्छा मनमा सम्झिएर शिवपार्वतीको एकैसाथ पूजा गर्दै नमन गर्नुपर्छ । यसरी पूजा गर्दै शिव पञ्चाक्षर मन्त्र (ॐ नमः शिवाय) को जप गर्नुपर्छ ।

सोमवार किन महत्वपूर्ण ?

सोमवारको अङ्क २ हो, यसले चन्द्रमाको (आइत–सूर्य, सोम–चन्द्र, मङ्गल–मङ्गल ग्रह आदि) प्रतिनिधित्व गर्दछ । चन्द्रमा मनको सङ्केतक हो अनि चन्द्रमा भगवान शिवको मस्तकमा पनि विराजमान छन् । ‘चन्द्रमा मनसो जातः’ अर्थात् ‘चन्द्रमा मनको मालिक हुन्’ । तसर्थ मनको नियन्त्रण अनि नियमनमा चन्द्रमाको भूमिका हुन्छ । यसको सोझो अर्थ यो हो कि साधकले मनलाई नियन्त्रित गर्दा मुक्ति पाउँछन् । त्रिगुणातीत भाव प्राप्त गर्दछन् अनि यही नै साधकको जन्ममरणबाट मुक्तिको आधार बन्छ ।

सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई खुसी पार्छ । त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत र पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अन्य दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

सोमबार र बोलबम

सोमबारका दिन काठमाडौंमा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउँछन् । अन्य स्थानमा पनि त्यसैगरी मुहान वा खोलाको शुद्ध पानी लगेर नजिकैको शिवालयहरूमा चढाइन्छ ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भनिन्छ । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

धर्म तथा संस्कृतिविद्हरूका अनुसार साउन महिनामा धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक विपद्का घटना नहोस् भनेर भगवान शिवको पूजा गरेर सामबारे व्रत बसिन्छ ।

सोमबार व्रत बस्दा मनले चिताएको कुरा पुग्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायु तथा खुसी पाउने जनविश्वास छ ।

वर्तमान प्रचलन

अहिले सोमबारको व्रतलाई विशेष उत्सवका रूपमा मनाउन थलिएको छ । व्रत बस्दा हरियो, पहेँलो र रातो रङ्गका वस्त्र, चुराको साथै मेहन्दी लगाउँदा भगवान शिवजी खुसी भई व्रतालुको इच्छा पूरा हुने विश्वास छ । कतिपय महिला तथा पुरुष साउन महिनाभरि सात्विक भोजन मात्र गर्दछन् । व्रत बस्नेहरू महिनाभरि चोखो खान्छन् भने व्रत नबस्ने महिलाहरू हरियो, पहेँलो चुरा र मेहन्दी लगाउने गर्दछन् ।

साउनमा महिलाहरू मेहन्दीका साथै हरियो, पंहेलो र रातो चुरा लुगा र पोतेमा सजिएका देखिन्छन् । महिलाहरू हरियो चुरा, मेहन्दी तथा हरिया वस्त्र लगाउनुको कारण भने आआफ्नै विश्लेषण छन् । यसलाई कोही पतिको दीर्घायुसँग जोड्छन् भने कसैले सन्तानको सुखद भविष्यसँग जोड्दछन्

साउनको सोमबारका दिन शिवको आराधना, पूजा, व्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरू सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागि पुग्ने गरेका छन् । पछिल्लो समयमा भने साउन महिनाको मुख्य रौनक अर्थात् आकर्षण नै हरियो चुरा तथा सोमबारे व्रत नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *