तारकेश्वर घटनाः यिनै हुन् दिनेशको हातबाट ज्यान गएका श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिक

काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन् ।

गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो ।

दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक थिए । दिनेशलाई छिमेकीले देखेनन् ।

प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुण्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेशले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘हत्यापछि आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट बरामद गरेको छ । दिनेशले सुरुमा पत्नीसँग आफ्नो लामो गुनासो लेखेका छन् । खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको तर, सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको दिनेशको आरोप छ ।

उनी ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि स्वदेश फर्केका थिए । पछिल्लो समय उनले तारकेश्वरमा घर नजिकै फेन्सी र इलेक्ट्रिक पसल चलाएका थिए । इलेक्ट्रिक सामग्री मर्मत र बिजुलीको काम गर्न दिनेश सिपालु थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार परिवारमा बेमेल थियो । माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बिचमा झगडा हुने गरेको देखिन्छ ।’

२०७७ माघमा दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर सुनिताले प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

पारिवारिक कलहका कारण हत्या र आत्महत्याको बाटो रोजेका दिनेशले आफ्ना कलिला दुई सन्तानको हत्याबारे यस्तो लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

घरको बैना विवाद

तारकेश्वरको घर सुनिताको नाममा थियो । सो घर बेच्नेबारे सल्लाह भए पनि सुनिता राजी भइनन् । त्यसपछि दिनेश एक्लैले १० लाख बैना रकम लिए । सो कुरा सुनिता र माइती पक्षलाई थाहा भएपछि विवाद चर्कियो ।

बैना फिर्ता गर्न दबाब आएपछि त्यही घर धितो राखेर उनीहरुले १८ लाख ऋण लिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।घर बेच्नेबारे विवाद भएपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने तयारी गरे ।

बेलायत जान उनको ‘सिजनल भिसा’ लागिसकेको थियो । तर, उनको बेलायत उड्ने सपना अपुरो भएको छ । नाबालक छोराछोरी र पत्नीको शरीरमा चक्कुका धेरै डोब छन् । दिनेशको पेटमा पनि चक्कुको डोब देखिन्छ । छतमा पनि रगत लतपतिएको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

३ जनाको हत्यापछि उनी चक्कुले आफैलाई प्रहार गरेर छतमा पुगेको हुनसक्ने एकजना अनुसन्धान अधिकृतले बताए । ती अधिकृतले भने, ‘चक्कुले आफैलाई घोपेर छतमा गएको र फर्केर झुण्डिने प्रयास गरेको देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *