घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो नागपञ्चमी

काठमाडौँ, १७ साउन -प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुराको उल्लेख बराहलगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थित वासुकी मन्दिरमासमेत यस दिन विशेष पूजाआजा गर्ने गरिएको छ ।

आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेतबारीमा नागस्थान बनाइ पूजा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *